प्रेस वक्तव्य - ८ मंसिर २०७२

(नयाँ शक्ति निर्माण अभियानकाे तत्कालीन कार्यविभाजन सहित)
८ मंसिर २०७२

पत्रकार साथीहरु,

यतिबेला हाम्रो देश गम्भीर संकटबाट गुज्रिँदै छ । संविधान बनेपछि देशले नयाँ बाटो लिन्छ भन्ने आम नेपाली जनताको आकांक्षा निराशामा बदलिएको छ । झन्डै चार महिनाको मधेस–तराई, थारुहट/थारुवान, मगरात/तमुवान, किराँत/लिम्बु, नेवार/तामाङ्ग आदि लगायतका जाति र समुदायले चलाएको आन्दोलनले देशको अर्थतन्त्र एकपछि अर्को गरी संकटमा पर्दै गएको छ । आम जनताको दैनिकी र जीवनयापन भयावह हुँदै गईरहेको छ । झन्डै आधा जनसंख्या बसोवास गर्ने मधेस–तराई झनै आक्रान्त पीडामा गुज्रिरहेको छ । ५ दर्जन जति नेपाली सपुतहरुको सहादत भईसकेको छ । दिनहुँ वार्ताका प्रसंगहरु सार्वजनिक भएका छन्, तर कुनै पनि दिनको वार्ताले केही पनि निर्णय लिन सकेको छैन । शुन्य निर्णयको परिणामविहिन “चिया वार्ता” सुन्दा–सुन्दा जनतासमेत वाक्क हुँदै गईरहेका छन् । राज्य पक्षको कुनै पनि गम्भीरता नभएकाले यस्तो हुँदै गएको घाम जत्तिकै छर्लङ्ग छ ।

आफ्नो देशका आन्तरिक समस्याहरु आफैंले हल गर्नेतिर जानुको सट्टा समस्याहरु अस्वाभाविक रुपमा अन्तर्राष्ट्रियकरण हुनु र कुटनीतिक सन्तुलन विग्रँदै जानु हाम्रो देशको निम्ति राम्रो संकेत होईन  । जुनरुपमा भए पनि भारतीय पक्षले भौतिक बस्तुहरुको आयातमा अवरोध गर्नु अन्तर्राष्ट्रिय ब्यापार तथा पारवाहन सन्धी–सम्झौता विपरित भएको प्रष्ट छ । तर पनि हाम्रो देशको वर्तमान सरकारले आन्दोलनको विषय र कुटनीतिक विषयलाई एउटै बनाएर गाँजेमाजे पार्दै देशभक्ति भावनालाई उत्ताउलो राष्ट्रवादमा घालमेल गरेर भ्रमित पार्ने कार्य गरिरहेको छ । हामी देशभक्ति भावना र राष्ट्रियतालाई अलग–अलग रुपमा बुझ्न आम नेपालीलाई अपील गर्दछौं ।

चलिरहेको आन्दोलन र भूकम्पबाट झन्डै १५ खर्व बरावरको नोक्सानी देशले व्यहोर्नु परेको छ । विगत वर्षको कार्तिक महिनाकै राजश्व संकलनको तुलनामा चालु वर्षमा ५० प्रतिशतको गिरावटले आर्थिक अवस्था झनै संकटमा परेको प्रष्ट नै छ । ५ प्रतिशतको दरले आर्थिक वृद्धिदर प्रक्षेपण गरिएकोमा त्यो घटेर झन्डै २ प्रतिशतमा झर्नुले अर्थ प्रणालीको गम्भीर गिरावटको प्रष्ट चित्र प्रस्तुत गर्दछ । महंगी, भ्रष्टचार, कालोवजारी, अभाव र तस्करी जस्ता आर्थिक–सामाजिक विकृतिहरु विकराल बन्दै गईरहेका छन् । भूकम्पपछिको  नवनिर्माणको राष्ट्रिय प्रतिवद्धता समेत योजनाविहिन हुँदा अन्तरौष्ट्रिय दातृ राष्ट्र र पक्षहरु समेत विच्किएकाले सरकारको अपरिपक्कता र गै्रहजिम्मेवारीपना छताछुल्ल भएको छ । दलित, महिला, मुस्लिम तथा अन्य कैयौं उत्पीडित पक्ष र समुदायका मागहरु समेत अलपत्र परेका छन् ।

यी तमाम समस्याहरुको समाधान गर्ने गरी विकल्प दिने शक्तिको आवश्यकता देशमा भएकोले हामीले झन्डै विगत दुई वर्षदेखि नयाँ शक्तिको आवश्यकता महसुस गरेका थियौं । त्यही आवश्यकतालाई पूरा गर्नका लागि “नयाँ शक्ति निर्माण अभियान”लाई औपचारिकता दिन विभिन्न पक्षहरुसँग वहस र छलफलमा सहभागी भइरहेको बेला विषेशत पूर्व माओवादी आन्दोलनबाट यो अभियानमा सहभागी हुनेहरु उपस्थित भएको नयाँ शक्ति निमार्ण अभियान उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको छ । यो कार्यक्रम देशका थुप्रै आदरणीय व्यक्तित्व र समूहहरुको संलग्नताले थप हौसला प्राप्त भएको सगौरव जानकारी गराउँदछौ  र वहाँहरुप्रति हार्दिक आभार पनि प्रकट गर्दछौं ।

दुई दिनसम्म चलेको उक्त कार्यक्रमपछि यही मंसिर आठ गतेदेखि नै लागू हुने गरी पहिलो चरणमा २ महिने अभियान सञ्चालन गरिनेछ । जसमा मुख्यतया प्रचारात्मक, संगठनात्मक र आन्दोलनसँग सम्बन्धित विषयहरु केन्द्रित गरिनेछ । अभियान सञ्चालनको व्यवस्थापनका लागि आवश्यक पर्ने गरी अभियन्ताहरुको प्रारम्भिक कार्यविभाजनसहित देशका सबै क्षेत्रहरुमा पुग्ने लक्ष्य राखिएको छ । साथै छलफलका वैचारिक, राजनीतिक र कार्यक्रमिक विषयको ब्यापक वहस शुरु गर्ने गरी तत्काल ९ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै दुई दिने “नयाँ शक्ति निर्माण अभियान” उद्घाटन समारोह सम्पन्न भएको जानकारी गराउँदछौं । साथै यो अभियानमा कुनै न कुनै रुपमा सहभागी हुन आम नेपाली जनसमुदायसँग हार्दिक अपिल गर्दछौं ।

तत्कालीन कार्यविभाजन

केन्द्रीय संयोजक    –    डा. बाबुराम भट्टराई
किराँत–लिम्बूवान–कोचिला संयोजक    –    राजेन्द्र किराती
मिथिला–भोजपुरा संयोजक    –    रामचन्द्र झा
नेवा:–ताम्सालिङ संयोजक    –    गंगा श्रेष्ठ
तमूवान–बाग्लुङ–म्याग्दी संयोजक    –    देवेन्द्र पराजुली
मगरात–अबध–थारुवान संयोजक    –    वामदेव क्षेत्री
भेरी–कर्णाली संयोजक    –    भक्तबहादुर साह
सेती–महाकाली संयोजक    –    नवराज सुवेदी
जबस–मोर्चा संयोजक    –    कुमार पौडेल
अन्तर्राष्ट्रिय संयोजक    –    हिसिला यमी
जातीय मोर्चा संयोजक    –    रामकुमार शर्मा

धन्यवाद सहित,

नयाँ शक्ति निर्माण अभियान

डाउनलोड