प्रेस विज्ञप्ति - २१ बैशाख २०७४ (मदन गिरीको जीवनरक्षाको माग)

२१ बैशाख २०७४

स्थानीय तहको निर्वाचनका लागि नयाँ शक्ति पार्टी, नेपालका तर्फबाट काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ बाट वडा अध्यक्षका उम्मेद्वार मदन गिरीलाई बैशाख २० गते काठमाडौंको नयाँबजारबाट अज्ञात समूहले अपहरण गरिएकोमा अहिलेसम्म उहाँको अवस्था पत्ता लाग्न सकेको छैन । बैशाख २० गते साँझ ७:१२ मा उहाँले आफू अपहरणमा परेको जानकारी पार्टीका साथीहरुलाई दिनुभएपछि उहाँको मोबाइल अहिलेसम्म अफ छ । उहाँ अपहरणमा पर्नुभएको बारे सूचना पाएलगत्तै हाम्रो पार्टीले सुरक्षा निकायलाई जानकारी दिएको थियो तर हालसम्म उहाँको अवस्था र अपहरणकारीका बारेमा केही सूचना प्राप्त हुन सकेको छैन ।

एकातिर स्थानीय तह निर्वाचन ऐनमा नै संसद्बाहिरका दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने प्रावधान राखेर नेपालको संविधानमा भएको प्रावधान र लोकतान्त्रिक मूल्य मान्यताविपरितको काम सत्ताधारीहरुले गरेका छन् । अर्कोतिर निर्वाचनमा उम्मेद्वारी दिएका व्यक्तिहरु अपहरणमा पर्ने, कतिपय उम्मेद्वारहरुलाई ज्यान मार्ने धम्की दिने काम पनि सत्ताधारी दलकै कार्यकर्ताहरुबाट भइरहेका सूचनाहरु आइरहेका छन् । यस्तो अवस्थामा निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा हुन लागेको छ भन्ने कुराको कत्ति पनि आभाष हुन सकेको छैन । नयाँ शक्ति पार्टी, नेपाल अपहरणमा पर्नुभएका मदन गिरीको शीघ्र खोजतलास गरी जीवन रक्षा गर्न र निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारसँग जोडदार माग गर्दछ ।

साथै सत्ताधारी दलहरुबाटै यसअघि पनि गोरखा, सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा उम्मेद्वारी दर्ता गर्न जाने क्रममा नै अवरोध सिर्जना गर्ने, उम्मेद्वारलाई घेरा हाल्ने, धम्क्याउने, हातपात गर्ने र उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा पनि विभिन्न लोभ, लालच, प्रलोभन, धम्की दिएर मानसिक दवाव दिने, उम्मेद्वारी फिर्ता गर्न धम्की दिने जस्ता निकृष्ट, लोकतन्त्रविरोधी र निर्वाचनविरोधी काम भइराखेका छन् । आवधिक निर्वाचन लोकतन्त्रको अभिन्न अंग हो तर सत्ताकै आडमा भइरहेका यस्ता हिंसात्मक गतिविधि र क्रियाकलापको बलमा हुने निर्वाचनले लोकतन्त्र होइन भिन्न खालको निरंकुशता र फासिवाद नै निम्त्याउँछ । हाम्रो पार्टी स्वतन्त्र निर्वाचनविरोधी यस्ता अराजनीतिक र आपराधिक क्रियाकलापको घोर विरोध र भत्र्सना गर्दछ । साथै हामी निर्वाचन पर्यवेक्षण गरिरहेका पर्यवेक्षक संघ–संस्थाहरु, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारकर्मीहरु लगायत सरोकारवाला निकायहरुको पनि यी गम्भीर परिघटनातर्फ ध्यानाकर्षण गराउन चाहन्छौं ।

 

–––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

डाउनलोड