प्रेस विज्ञप्ती – चैत २९

२९ चैत २०७२

केही पत्रपत्रिकाहरुमा ‘डा.बाबुरामले सिके राउतलाई भेटे’ भन्ने व्यहोराको समाचार प्रकाशन गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो समाचार झूटो र कपोलकल्पित भएको व्यहोरा स्पष्ट पार्न चाहन्छौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अधिकांश भेटघाट बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा गर्दै आउनुभएको छ र सानेपास्थित निवासमा राजनीतिक भेटघाट नगर्ने, गर्नुपर्दा पनि एक्लै भेटघाट नगर्ने र सामूहिक भेटघाट गर्ने प्रचलन आरम्भ गर्नुभएको छ ।

मधेश र पहाडलाई एकअर्काको विरोधीको रुपमा चित्रित गर्ने सत्ताधारी दलहरुको प्रतिवाद गर्दै मधेसी–थारु, आदिवासी–जनजाति र खस–आर्य तीनवटै क्लस्टरकाबीच सद्भाव र मजबुत एकता कायम गर्दै राष्ट्रिय एकता सबल बनाउने अभियानमा नयाँ शक्ति नेपाल लागिपरेको छ । सोका निम्ति थारु, मधेशी र आदिवासी–जनजातिका जायज मागहरु पूरा गर्न अबिलम्ब वार्ता संवादको थालनी गर्नुपर्छ भन्ने मान्यतासहित नयाँ शक्ति नेपाल अगाडि बढिरहेको सन्दर्भमा वार्ता, संवाद र सहमतिमार्फत राष्ट्रिय एकता कायम गर्न नचाहने तत्वहरु यो वा त्यो बहानामा नयाँ शक्ति नेपाललाई बदनाम गर्न लागिपरेका छन् । त्यसतर्फ सचेत रहन र यस्ता निराधर, कपोलकल्पित र झूटा समाचारबाट भ्रमित नहुन र खुशी, सुखी र समृद्धि सहितको नयाँ नेपाल निर्माण गर्ने नयाँ शक्ति नेपालको अभियानमा गोलबद्ध हुन हार्दिक अपिल गर्दछु ।

धन्यवाद ।

२०७२ चैत २९

खिमलाल देवकोटा
प्रवक्ता, नयाँ शक्ति नेपाल