प्रेस वक्तव्य - २९ साउन २०७४

२९ साउन २०७४

देशका विभिन्न भागमा केही दिनयता भएको भारी वर्षा, बाढी, पहिरो, डुबान, कटानले ठूलो मात्रामा पुर्‍याएको धनजनको क्षतिले हाम्रो पार्टीको ध्यान गम्भीररुपमा आकर्षित भएको छ । विशेषत: तराईमा झापा, मोरङ, सुनसरी, बर्दिया र प्रदेश नं. २ का आठ वटै जिल्ला र केही पहाडी जिल्लाको बाढी, पहिरो र डुबानले जनजीवनलाई असामान्य रुपमा कष्टकर बनाएको खबर प्राप्त भएको छ । सप्तकोशी, कमला, वलान, खाँडो, बागमती, लालबकैयालगायत विभिन्न नदीमा आएको बाढीले उच्च जोखिमको स्थिति सिर्जना गरेका छन् । विर्तामोड, दमक, इटहरी, विराटनगर, राजविराज, जनकपुर, बीरगञ्ज लगायतका ठूला शहरी क्षेत्रहरु नै जलमग्न हुनु एकप्रकारको राष्ट्रिय विपत्तिकै अवस्था हो ।

हाम्रो पार्टी यस दु:खद् अवस्थाको मिलेर सामना गर्न, एकअर्कालाई सहयोग गर्न सबैलाई हार्दिक अपिल गर्दछ । उद्धार, राहत र पुनर्स्थापनाका कार्यक्रमहरु अबिलम्ब प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । विपत्तिको यस घडीमा सम्भव सबै ठाउँमा पीडितहरुको उद्धार कार्यमा सहयोग पुर्‍याउन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन गरिन्छ । पार्टीले राहत संकलन तथा वितरण कार्यमा यथोचित पहलकदमी लिने निर्णय पनि गरेको छ ।

हामी प्राकृतिक विपत्तिबाट आफन्तजन गुमाउनुभएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । यस दु:खद् घडीमा नयाँ शक्ति पार्टी यहाँहरुको साथमा छ, मिलेर विपत्तिको सामना गरौं ।

 


–––––––––––––––––––––––
(डा. बाबुराम भट्टराई)
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल