चौथो संघीय परिषद्को विस्तारित बैठकको निर्णयसम्बन्धी प्रेस विज्ञप्ती

१२ फागुन २०७४

सम्पूर्ण पत्रकार मित्रहरु

नयाँ शक्ति पार्टी, नेपाल संघीय परिषद्को चौथो विस्तारित बैठक संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यहि मिति २०७४ फागुन ९, १०, ११ र १२ गते सम्पन्न भयो । बैठकमा निम्न निर्णयहरु गरियो ।

१. संघीय परिषद्को चौथो विस्तारित बैठकको उद्घाटन संयोजक डा. बाबुराम भटट्राईद्वारा भव्य समारोहबीच फागुन ९ गते गरियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयोजकद्वारा नयाँ शक्ति पार्टी नेपालले परम्परागत उदारवादी र साम्यवादी पार्टीभन्दा पृथक प्रकारको पहिचान दिंदै सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादलाई लक्ष्य बनाएको उल्लेख गर्नुभयो । समुन्नत समाजवादलाई पार्टीको राजनीतिक लक्ष्य निर्धारण गरी त्यहाँसम्म पुग्ने मार्गको रुपमा समतामूलक समृद्धिलाई अंगाल्ने र त्यो समृद्धि हासिल गर्न नयाँ शक्तिले स्वाधिनताको रक्षा, समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्र, सुशासन र सदाचारलाई आधार तत्वको रुपमा व्याख्या गरेको उल्लेख गर्नुभयो । देशमा पुराना पार्टीहरु कोकाकोला र पेप्सिकोला जस्ता फगत ब्राण्ड मात्र बनेका र तिनको गुण र उपयोगिता सम्पूर्ण रुपले ह्रास भएको बताउँदै राजनीतिलाई स्वयम्सेवी कार्य नबनाई वैयक्तिक लाभ, सुख, सुविधा र कमिशन खोरहरुको चक्रमा आफूलाई सीमित गरेकोले तिनको विकल्पमा जनताले नयाँ शक्तिलाई अंगिकार गर्दै जाने बताउनुभयो ।

२. उद्घाटन सत्र पश्चात् छलफलसत्र सुरु गरी संयोजक डा. बाबुराम भट्टराईद्वारा ‘नयाँ शक्तिको दुई वर्ष ः वैकल्पिक राजनीतिको अपरिहार्यता’ शीर्षकको राजनीतिक, सांगठनिक र व्यवस्थापकीय प्रतिवेदन प्रस्तुत गरियो । उक्त प्रतिवेदन माथि विस्तृत छलफल गर्न सहभागि प्रतिनिधिहरुबीच १० समूह विभाजन गरी छलफल गरी छलफलको निश्कर्षलाई १० टोली प्रमुखद्वारा सुझाव सल्लाहसहित पेश गरियो । प्राप्त सुझाव एवं टिप्पणीमाथि संयोजकज्यूले सहभागिलाई प्रष्ट पार्ने काम भयो । तत्पश्चात् आवश्यक परिमार्जनसहित कर्तलध्वनिका साथ सर्वसम्मतिले उक्त प्रस्ताव पारित गरियो ।

३. पारित प्रस्तावका मुख्य अंशहरु यस प्रकार रहेका छन ः
(क) विश्वका धेरै मुलुकहरुमा र नेपालमा पनि पहिले क्रान्ति गरेका पार्टी र नेतृत्व कालान्तरमा गैरक्रान्तिकारी हुँदै गएका दृष्टान्त रहेको स्थितिमा हामीले समाजको गत्यावरोध समाधान र रुपान्तरणको माध्यमका रुपमा राजनीतिलाई लिनुपर्छ ।
(ख) केवल निजी स्वार्थका लागि सत्ता र राजनीतिलाई प्रयोग गर्ने दूषित परम्पराको अन्त्य गर्दै देशको सामाजिक, आर्थिक रुपान्तरण गर्ने साधनको रुपमा राजनीतिलाई ग्रहण गर्नुपर्दछ ।
(ग) देशको विकासका लागि समृद्धिको स्पष्ट मार्गचित्र हुनुपर्दछ । हामीले चाहेको समृद्धिका तत्वहरुमा –प्रचुर उत्पादन, न्यायपूर्ण वितरण, दिगोपन र आत्मिक सुख गरी चार प्रमुख तत्व रहेका छन् ।
(घ) नेपाल जस्तो विकासशील मुलुकका लागि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नु अपरिहार्य रहेको र त्यसले देशलाई चरणबद्ध रुपमा २५ वर्षमा समुन्नत बनाउन सक्नेछ । राजनीतिक साधनद्वारा सत्ता प्राप्त गरी समृद्धिलाई सुनिश्चित गर्ने लक्ष्य नयाँ शक्तिले निर्धारण गरेको छ ।
(ङ) समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्र नै नयाँ शक्तिले प्रस्तुत गरेको समुन्नत समाजवादको आधार हो ।

४. सांगठनिक सवालमा चौथो विस्तारित बैठकले निम्न निर्णयहरु गरेको छ ः
(क) नयाँ शक्तिले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ । जस अन्तर्गत वैचारिक–राजनीतिक मार्गदर्शनसँगै संगठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाइने छ ।
(ख) संगठनात्मक संरचनालाई वैज्ञानिकपन दिन कार्यकारी विज्ञ र संरक्षक परिषद् गरी समतलीय संरचना अनुमोदन गरिएको छ । कार्यकारी समितिलाई दुई अंक अर्थात् ९९ मा कायम गरिएको छ । हाललाई ९९ जनाको केन्द्रीय कार्यकारी समिति गठन गरिएको छ । त्यस्तै महाधिवेशन आयोजक समितिको अभिन्न अंगका रुपमा केन्द्रीय कार्यकारी समितिसहित ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको छ ।
(ग) पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय गरिएको छ ।
(घ) आसन्न प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ र सोको लागि छलफलबाट उपयुक्त नाम तय गरिनेछ ।
(ङ) पार्टी समितिका सदस्यहरुको योग्यता र अनुभव किटान गरिएको छ ।
(च) पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को चौथो विस्तारित बैठकद्वारा सर्वसम्मतिले पुनः संयोजक पदमा चयन गरिएको छ ।
(छ) दस्तावेज परिमार्जन गर्नका लागि संयोजक डा. बाबुराम भट्टराईको संयोजकत्वमा देवी प्रसाद ओझा, डम्बर खतिवडा, गंगा नारायण श्रेष्ठ र कल्पना धमला रहेको ५ सदस्यीय समिति गठन गरिएको छ ।
(ज) महाधिवेशन आयोजक समितिको प्रथम बैठकले प्रदेश इन्चार्जहरु निश्चित गरेको छ । जस अन्तर्गत प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्र बहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ । त्यसैगरी केन्द्रीय कार्यालय संयोजकको रुपमा राजु नेपाललाई जिम्मेवारी दिइएको छ र प्रवक्तामा प्रशान्त सिंह कायम रहनुभएको छ ।
(झ) बैठकले मौजुदा विधानमा संघीय संरचना र जिल्लाको बदलिएको समन्वयात्मक स्वरुप अनुरुप विभिन्न संशोधनहरु गरेको छ ।
(ञ) भर्खरै सम्पन्न निर्वाचनमा भएको अन्तर्घात सम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई अनुमोदन गर्दै नयाँ उजुरी छानबिन गर्न एक महिनाको म्याद थपिदिएको छ ।

५. आज फागुन १२ गते बुद्धको जन्मस्थल अगाडि ५ बुँदे ‘लुम्बिनी संकल्प २०७४’ र त्यसको सामुहिक सपथसँगै संयोजक डा. बाबुराम भट्टराईद्वारा बैठकलाई औपचारिक समापन गरिएको छ ।

६. अन्त्यमा आजै बसेको चौथो विस्तारित बैठकपछिको महाधिवेशन आयोजक समितिको प्रथम बैठकले यस ५ नम्बर प्रदेश मूल आयोजक समिति, उपसमिति, व्यवस्थापनमा खट्नुहुने सम्पूर्ण महानुभाव, बैठकलाई हरतरहले सफल तुल्याउन सहयोग गर्ने होटल व्यवसायी, उद्यमी, पत्रकार र सुरक्षाकर्मी सबैलाई आभार र धन्यवाद ज्ञापन गरेको छ ।

धन्यवाद

...................
डा. बाबुराम भट्टराई
संयोजक

डाउनलोड