प्रेस–वक्तव्य - २७ फागुन २०७४

२७ फागुन २०७४

कैलालीको घोडाघोडी नगरपालिकामा ‘बोक्सी’को नाममा राधा चौधरीमाथि भएको क्रुर र अमानवीय क्रियाकलापको नयाँ शक्ति पार्टी, नेपाल घोर भत्र्सना गर्दछ ।

आपराधिक क्रियाकलाप भइसकेपछि पीडितको मानवअधिकार रक्षा गर्ने पहिलो काम राज्यको हुन्छ । तर प्रहरी कार्यालयले नै पीडितलाई फिर्ता गरिदिनु र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा नै जबरजस्ती ‘मिलापत्र’ गराइनु मानवअघिकारको घोर उल्लंघन हो । नयाँ शक्ति पार्टी नेपाल घटनाको सत्यतथ्य छानविन गरी यो अपराध कार्यमा संलग्नहरुलाई, पीडकलाई त्यसै छोडिदिने प्रहरी अधिकृतलाई, नगरपालिका प्रमुखलाई कारवाहीको लागि सरकारसँग माग गर्दछ ।

सार्वजनिक रुपमा यस्ता घटना हुँदा पनि घटनास्थलमा मानिसहरु तमासा हेरेर बस्ने प्रवृत्तिले समाजलाई नै अन्धविश्वास र मानवीय असंवेदनशीलतातिर लैजाने खतरा बढेको छ । यस्ता अमानवीय प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले आवश्यक कडा भन्दा कडा कदम चालोस् ।

महिलामाथि हुने यस्ता अनेकन घटनाहरुमा प्रहरी प्रशासनले पीडकलाई त्यसै छोडिदिएको घटनाहरु बारम्बार दोहोरिइरहेका छन् । यसले पनि अपराधकर्मलाई प्रोत्साहन गरिरहेको छ । त्यसैले नयाँ शक्ति पार्टीको माग छ – महिलामाथिको हिंसाका घटनामा तत्काल छानविन गरी पीडितलाई न्याय दिन सरकार गम्भीर बनोस् ।

 


......................
विश्वदीप पाण्डे
प्रमुख
सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग

डाउनलोड