प्रेस वक्तव्य - २ जेठ २०७५

२ जेठ २०७५

भरखरै सम्पन्न छिमेकी देश भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय भ्रमणसँग सम्बन्धित महत्वपूर्ण पक्ष र सवालमा नयाँ शक्ति पार्टी, नेपालका धारणा र अडान निम्न बमोजिम प्रष्ट पार्न चाहन्छौं:

१. महामहिम प्रधानमन्त्रीको भ्रमणक्रममा नेपाल–भारत सम्बन्धका अहम् सवालहरु जस्तै – सन् १९५० को सन्धी, कोशी तथा गण्डक सम्झौताको पुनरावलोकन, महाकाली सन्धीको कार्यान्वयन र पञ्चेश्वरको डिपिआर, कालापानी, लिम्पियाधुरा, सुस्तालगायत दर्जनौं सीमाविवाद, चुलिँदो व्यापार घाटा, दक्षिणवर्ती एकतर्फी सीमाबाँधहरु र त्यसले उत्पन्न गर्ने डुबान समस्या, क्वारेन्टाइन चेकपोस्टका कारण कृषिजन्य वस्तुको निकासीमा देखिएको समस्या, इपिजीका गृहकार्यहरुको स्वामित्व ग्रहण आदि विषयमा कुनै गम्भीर छलफल, गृहकार्य र सहमति भएको पाइएन । भ्रमण नेपाल–भारतबीचका समस्यामा केन्द्रित नभएर प्रधानमन्त्रीद्वय ओली–मोदीको व्यक्तिगत प्रेम–घृणाको सम्बन्ध र राजनीतिक लाभमा सीमित हुनु चिन्ताजनक विषय हो ।

२. भ्रमण कार्यक्रम निर्धारण गर्दा नेपाल सरकार आफ्ना आन्तरिक संवेनदशीलताप्रति गम्भीर देखिएन । नेपाल सरकारका अंग, निकाय र अवयवहरुबीच प्रभावकारी समन्वय, नियन्त्रण र सन्तुलन कायम गर्न परराष्ट्र मन्त्रालय असफल रह्यो । प्रदेश नम्बर २ का मुख्यमन्त्रीले आन्तरिक राजनीतिको विषयलाई बाह्य पक्षसँग नियोरा गर्नु कुटनीतिक मर्यादाका हिसाबले सर्वथा अनुचित हो ।

३. नेपालका सुरक्षा निकायहरु आफ्नो पेशागत क्षमता र दक्षताका लागि विश्वव्यापी रुपमा प्रसंशित छन् । महामहिमको नेपाल भ्रमणमा सुरक्षाको पूर्ण प्रत्याभूत गर्न नेपाल सक्षम थियो । यो यथार्थलाई नजरअन्दाज गरी ठूलो संख्यामा भारतीय सुरक्षा कमाण्डो र हेलिकप्टरहरु नेपाल ल्याउने जुन कार्य भयो त्यो किमार्थ उचित थिएन । त्यसले देशका सुरक्षा निकायको मर्यादा र आत्मबललाई गिराउने तथा देशको सार्वभौमसत्तामाथि आशंका उत्पन्न गर्ने गम्भीर त्रुटी भएको छ ।

४. अभिव्यक्ति स्वतन्त्रता र विरोधको अधिकार लोकतन्त्रको विश्वव्यापी मान्यता हो । एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीका रुपमा महामहिम नरेन्द्र मोदीलाई लोकतन्त्रको यो मान्यता जानकारी नहुने कुरा थिएन । भ्रमणका क्रममा विगत नाकाबन्दीले उत्पन्न गरेको पीडालाई जनस्तरबाट मुखरित हुन नदिएर वर्तमान ओली सरकारले अनावश्यक भक्ति, चाकरी र नखरा प्रदर्शन गरेको छ । वैधानिक दलको कार्यालयबाट ब्यानर उतार्नेसम्मका सरकारका क्रियाकलापहरु अलोकतान्त्रिक र निन्दनीय छ ।

५. भ्रमण अवधिमै महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीकै दल बिजेपीबाट निर्वाचित एक भारतीय सांसद किर्ती आजादले दिएको अभिव्यक्तिले नेपाल–भारत सम्बन्धलाई अनावश्यक रुपमा जटील बनाउने दुष्चेष्टा गरेको छ, हाम्रो पार्टी त्यसको तीब्र निन्दा र भत्र्सना गर्दछ ।

६. भ्रमण अवधिमा दुई प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गरेको अरुण तेस्रो योजनाको निर्माण तथा लगानीका शर्त बन्देजहरु, निर्माणको वैधानिक मोडालिटी तथा पारस्परिक लाभका विषयहरु जनस्तरमा सुसूचित गरिएको छैन । यहाँनेर नेपाल सरकार नागरिकको सूचनाको हकसम्बन्धी अधिकारलाई सम्मान गर्न चुकेको छ । यसबारे सत्यतथ्य सूचना सार्वजनिक गर्न नयाँ शक्ति सरकारसँग माग गर्दछ ।

 

 

––––––––––––––––––––––––
डम्बर खतिवडा
प्रवक्ता, नयाँ शक्ति पार्टी, नेपाल

डाउनलोड