युवा शक्ति नेपालको विशेष संघीय भेलापछि निर्वाचित नयाँ कार्यसमिति तथा निर्णयहरु

१ असार २०७३

आदारणिय पत्रकार मित्रहरु,
“राष्ट्रिय युवा अभियान, विकास र समृद्धिमा योगदान” भन्ने नाराका साथ नयाँ शक्ति पार्टी, नेपालको तेस्रो स्थापना दिवस तथा तत्कालीन राष्ट्रिय युवा अभियानको विशेष संघीय भेला काठमाडौमा भव्यता साथ सम्पन्न भएको जानकारी गराउँदछौ । देशभरबाट ५००० भन्दा बढी सहभागिता रहेको पार्टी स्थापना दिवस तथा विशेष संघीय युवा भेलाको उद्घाटन पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गर्नुभएको थियो । ६९ जिल्लाबाट सहभागी १००० प्रतिनिधिहरुको सहभागिता रहेको विशेष भेलाको बन्दसत्रले संगठनको विधान, राजनैतिक तथा संठनात्मक प्रतिवेदन पारित गरेको छ । भेलाले संगठनको २ वर्षे अवधिको समीक्षा गर्दै दुर्वल र सवल पक्षहरुको निक्र्यौल गरेको छ भने गठनको नाम परिवर्तन गरी “युवा शक्ति नेपाल” राखेको छ ।


नयाँ शक्ति पार्टीले लिएको निरन्तर गतिशिलताको नियम वैैचारिक एवम् दार्शनिक मान्यता नै युवा शक्ति नेपालको वैैचारिक मार्गदर्शन हो । नेपाली समाजको न्यायपूर्ण व्यवस्थापन र विकसित र समृद्ध राष्ट्र निर्माणको लागी सुशासित/सदाचारी राजनिति र समानुपातिक सहभागितामुलक लोकतन्त्रको विधिमार्फत राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता कायम गर्दै समुन्नत समाजवादमा प्रक्षेपण आजको आवश्यकता हो । त्यसको लागि युवा पुस्तालाई ज्ञान, सिप, दक्षता र क्षमताले भरिपूर्ण बनाएर यो समाज र राष्ट्रको योग्य एवम् सक्षम नागरिक बनाउने युवा शक्ति नेपालको ध्येय हो ।

राणतन्त्रका विरुद्धको संघर्ष होस्, चाहे पञ्चायतविरुद्धको आन्दोलन, मधेश आन्दोलन वा तत्कालिन जनयुद्धको भिषण युद्धमय परिस्थितिमा होस्, चाहे २०६२–६३ को जनआन्दोलनमा नै किन नहो्स ति सबै संघर्ष र युद्धको अगुवाई र निर्णायक तहमा पुर्‍याएकै युवा पुस्ताले हो । तसर्थ, नेपाली राजनैतिक परिवर्तनमा युवा पुस्ताको आँट साहस र बलिदान उच्च प्रशंसनीय छ । यद्यपि, संघर्ष र आन्दोलन पछिको अवतरणमा युवाहरु अमुक दलकका नेतालाई शत्तामा पुर्‍याउने भर्‍याङ मात्र बन्नु पर्ने बिडम्बना बनेको छ । तसर्थ, काँधमा बन्दुक बोकेर अरुलाई पड्काउन लगाउने अवस्थाको अन्त्य गरी अब नयाँ पुस्ताले आफ्नो र आफ्नो आगामी सन्ततिका लागि आफै अग्रसर भएर आर्थिक, समाजिक एवम् राजनीतिक अभियान सञ्चालन गर्नु नै आजको आवश्यकता हो । यही आवश्यकता पूर्तिका लागि निम्नुसारको मुख्य कार्यक्रमहरु तय गरिएको छ ।


आगामी कार्यक्रमहरुः
१. तीव्र आर्थिक विकास र समृद्धि हासिल गर्नका लागि राजनीतिक स्थायित्व र सुशासन अपरिहार्य हुने र त्यसका लागि राज्यको शासकीय स्वरुप बदली प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा अभियान तथा आन्दोलन गर्ने ।
२. रोजगारी तथा अवसरका लागि विदेशिएका ६० लाखभन्दा बढी नेपाली नागरिकहरुको मताधिकारको उपयोग गर्न विदेशबाट नै मताधिकार प्रयोग गराउनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आन्दोलनका कार्यक्रमहरु गर्ने । साथै, वैदेशिक रोजगारीमा आवद्ध युवाहरुको परिवारलाई समेटेर उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गर्ने गरी युवा शक्ति नेपालको अगुवाईमा केही नमूना परियोजनाहरु निर्माण एवं संचालन गर्ने ।
३. राज्यका विभिन्न तहमा हुने भ्रष्टाचार, अनियमितता एवं विभिन्न विभेदजन्य व्यवहार एवं सामाजिक कुरीति र कुसंगतिहरुका विरुद्ध अभियानात्मक कार्यक्रमहरु संचालन गर्ने ।
४. युवामा प्रतिस्पर्धी क्षमताको विकास गर्न संघीय, प्रदेश एवं स्थानीय तहमा सिर्जनशीलता, उद्यमशीलता र अनुसन्धानशिलता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने ।
५. आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्रमा युवा सक्रियता बढाउने कार्यक्रमहरु संचालन गर्ने तथा सकारात्मक विभेदको सिद्धान्तमार्फत अवसरबाट बञ्चित युवाहरुको विकास र अभिवृद्धि एवं सशक्तिकरण गर्ने ।
६. युवाको अधिक जनसंख्या भएको मौकामा आगामि आर्थिक वर्षलाई युवा वर्षको रपमा घोषणा गरियोस र समृद्धिका लागि युवा पुस्ताको योगदानको आवश्यकता र युवापुस्तामा देखिएको विद्यमान अन्यौलता र अकर्मण्यताबीचको अन्तरविरोध समाधान गरी युवालाई सीप, क्षमता, आवश्यक अन्य सहयोग दिई जागिरे होइन उद्यमशील बनाउने क्षेत्रमा कार्यक्रमहरु संचालन गर्ने ।
७. देशको समसामयिक राजनीति, कला, साहित्य, संस्कृति, प्रविधि, व्यापार, व्यवसाय एवं सामाजिक विषयवस्तु माथि अध्ययन, अनुसन्धान गर्न युवामैत्री अध्ययन केन्द्र निर्माण गरी अध्ययन संस्कृतिको विकास गर्ने ।
८. स्वदेश एवं विदेशका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेका क्षमतावान युवालाई नेपालको नीति निर्माण तहमा सहभागि गराउन युथ थिंक ट्यांकको अवधारणाको विकास गर्ने ।
९. वातावरणको संरक्षण, पर्यावरणीय स्वच्छता एवं दिगो विकास लक्ष्य हासिल गर्नका लागि देशव्यापी अभियान संचालन गर्ने ।
हाम्रो अनुरोधलाई स्विकार गरी आजको पत्रकार सम्मेलनमा उपस्थित हुनु भएकोमा सम्पुर्ण पत्रकार साथीहरुमा हार्दिक आभार तथा धन्यवाद ।

 

जिएस गुरुङ                                                                                                                                                           रमेश पोखरेल (अटल)
महासचिव                                                                                                                                                                       अध्यक्ष

 

डाउनलोड