शहीद तथा बेपत्ता योद्धा परिवार, घाइते/अपाङ्ग एवं द्वन्द प्रभावित परिवार व्यवस्थापन विभागको प्रेस विज्ञप्ति

२९ असार २०७५

प्रेस विज्ञप्ति
नयाँ शक्ति पार्टी, नेपालले २०७५/०३/२७ गते शहीद तथा बेपत्ता योद्धा परिवार, घाईते/अपाङ्ग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभागको गठन गरेको छ । राजु नेपालीको संयोजकत्वमा बनेको ११ सदस्यीय कमिटिमा कल्पना सुवेदी (सिन्धुली), विरबहादुर तामाङ (धादिङ), दिपक वाग्ले (गोर्खा), दुर्गाप्रसाद भुसाल (नवलपुर), शारदा घिमिरे (कपिलवस्तु), अमर वली (रुकुम), सिता भण्डारी (कञ्चनपुर) र विभागका कानुनी सल्लाहकारमा अधिवक्ता कृष्णप्रसाद शर्मा (वाग्लुङ्ग) रहनुभएको छ । महान शहीदहरुको सम्मानमा एक मिनेट भावपूर्ण श्रद्धान्जली प्रकट गरी बैठक प्रारम्भ भएको थियो ।


यसैगरी बैठकले देशव्यापी रुपमा सहीद, बेपत्ता, घाईते तथा अपाङ्गहरुको तथ्याङ्क संकलन गरी अभिलेख तयार गर्ने, उनीहरुको लागि बेग्लै परिचयपत्र बनाई परिचयपत्रका आधारमा स्वास्थ्य, शिक्षा, रोजगारी, जस्ता आधारभुत क्षेत्रमा विशेष छुट, सेवा, सहुलियत र आरक्षण उपलव्ध गराउन राज्यसँग माग गर्ने, अदालतमा चलिरहेको र विचाराधीन अवस्थामा रहेका जनयुद्धकालीन घटना र मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याई बृहत शान्ति सम्झौताको मुल मर्म र संक्रमणकालीन न्यायको मान्य सिद्धान्तहरुबमोजिम टुङ्गाउन सरकारलाई दवाव दिने लगायतका अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।


नेपालको युगान्तकारी राजनीतिक परिवर्तनमा मुख्य भूमिका निर्वाह गरेका महान शहीदहरु र बेपत्ता योद्धा घाईते/अपाङ्ग र तिनका परिवारहरुका समस्याहरु आज पनि जस्ताको तस्तै रहेका छन् । शहीदहरुका सपना पुरा गर्न अझै बाँकी छ ।

वर्तमान सरकार र संसदीय धारका पार्टीहरुका क्रियाकलापहरुले उनीहरुलाई झन निराशा र आहत बनाईरहेको अवस्थामा देशैभरी रहेका शहीद, बेपत्ता, घाईते, अपाङ्ग र तिनका परिवारहरुलाई सचेत र संगठित गर्दै अगाडी बढ्न ७ वटै प्रदेशहरु र प्रवासमा समेत शहीद, बेपत्ता, घाईते, अपाङ्ग समाज गठन गर्ने कार्ययोजना तय गरिएको छ ।

संयोजक
राजु नेपाली

 

डाउनलोड