कञ्चनपुर घटनाबारे प्रेस वक्तव्य - ९ भदौ २०७५

९ भदौ २०७५

#justiceforNirmala #justiceforallvictims #standtogetherforjustice
 
१३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय किशोर सनी खुनाको मृत्यु भएको घटनाको नयाँ शक्ति पार्टी, नेपाल घोर भत्र्सना गर्दछ । नयाँ शक्ति पार्टी, नेपाल मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।
 
प्रथमत: बलात्कार र हत्याको घटनालाई गम्भीर ढङ्गले लिई त्यसको छानविन र कारवाहीको प्रक्रिया द्रूतगतिमा अघि बढाउनुपर्नेमा राज्यका निकायहरूमा गम्भीरता र संवेदनशीलताको अभाव देखियो । अर्कोतिर, घटनाको छानविन र अपराधीलाई कारवाहीको माग गर्दै स्थानीयले गरेको आन्दोलनलाई समयमै उचित सम्बोधन गर्नुको साटो राज्यप्रशासनले अनावश्यक बल प्रयोग गरेर आन्दोलनकारीलाई उत्तेजित बनाउने कार्य भयो । त्यसले स्थिति झन् बिग्रँदै गएको देखिएको छ । प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । 
 
परिस्थितिलाई साम्य पार्न भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । कफ्र्यू आदेश दीर्घकालीन समाधानको उपाय नभएकोले किशोरी बलात्कार र हत्याको घटनाको छानविन गरी अपराधीलाई कारवाही गर्ने काममा द्रूतरुपमा लाग्न सरकारसँग नयाँ शक्ति पार्टी, नेपाल जोडदार माग गर्दछ । साथै, प्रहरीको गोली लागी मृत्यु भएका सनि खुनाको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको शीघ्र उपचार गर्न पनि नयाँ शक्ति पार्टी, नेपाल सरकारसँग माग गर्दछ ।
 
त्यसैगरी, पछिल्लो समयमा देशैभरि भएका महिला हिंसा र बलात्कारको घटनाप्रति नयाँ शक्ति पार्टी, नेपाल अत्यन्त चिन्तित छ । महिला हिंसाको निराकरण गर्न र बलात्कार जस्ता बर्बर हिंसा गर्नेलाई कडा भन्दा कडा कार्वाही गर्न तथा हाम्रा आमा, दिदी बहिनी र छोरीहरूको सुरक्षाको यस आन्दोलनमा हाम्रो पार्टीको पूर्ण ऐक्यवद्घता छ । नयाँ शक्ति पार्टी सबैसँग अपील गर्दछ – हामी सबै हातेमालो गरेर यस्ता अमानवीय घटना रोक्न र महिला अस्मिता र सुरक्षाको पूर्ण प्रत्याभूति गर्न लागी परौं ।
 
 
 
......................
विश्वदीप पाण्डे
प्रमुख
सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग

डाउनलोड