प्रेस वक्तव्य - २० भदौ २०७५

२० भदौ २०७५

देश बाहिर काम वा अध्ययनको सिलसिलामा रहनुभएका लाखौं नेपालीले पठाएको रेमिट्यान्सले हाम्रो मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको छ । ५५ प्रतिशत भन्दा बढी घर–परिवारबाट कम्तीमा एक जना नेपाली देश बाहिर विदेशिनु परेको आजको हाम्रो यथार्थ हो । तर हालसम्म विदेशमा रहनुभएका नेपालीको लागि मतदानमा सहभागी हुने व्यवस्था नेपालको निर्वाचन प्रणालीमा छैन । नयाँ शक्ति नेपालले स्थापना कालदेखि नै निर्वाचन प्रणालीसँग सम्बन्धित तीन वटा विषयलाई जोडदार रुपमा उठाउँदै आएको छ । पहिलो, नेपालबाहिर रहेका नेपालीले भोट हाल्न पाउनु पर्ने । दोस्रो, जनताले प्रत्यक्ष चुनेको व्यक्ति प्रमुख कार्यकारी हुनु पर्ने र तेस्रो, पूर्ण समानुपातिक निर्वाचन प्रणाली ।

हालै सर्वोच्च अदालतले अधिवक्ता प्रेम राईले दायर गर्नु भएको मुद्दामा फैसला गर्दै देशबाहिर रहेका नेपालीले पनि नेपालको निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्न सरकारको नाममा निर्देशात्मक आदेश जारी गरेको छ । नयाँ शक्ति पार्टी सर्वोच्चको यो निर्णयको स्वागत गर्दछ । यसका साथै सरकार र सम्बन्धित निकायलाई अब हुने चुनावमा विदेशमा रहेका नागरिकहरुले विदेशबाटै मतदान गर्न सक्ने गरी व्यवस्था मिलाउन आवश्यक कदम चाल्न पनि आग्रह गर्दछ ।

नेपालको लोकतन्त्रलाई अझै पारदर्शी, जनताप्रति उत्तरदायी र समुन्नत बनाउन जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको कुरा फेरि प्रष्ट पार्न चाहन्छौँ र हामी सबै मिलेर यी व्यवस्था बनाउन हातेमालो र सहकार्यको लागि अपील पनि गर्दछौँ ।

 

 

......................
विश्वदीप पाण्डे
प्रमुख
सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग
नयाँ शक्ति पार्टी, नेपाल

डाउनलोड