विनाशकारी महाभूकम्पको एक वर्षबारे नयाँ शक्ति नेपालको भनाइ

१२ बैशाख २०७३

विनाशकारी महाभूकम्पको एक वर्षबारे नयाँ शक्ति नेपालको भनाइ


आदरणीय दिदी–वहिनी तथा दाजु–भाइहरु,

विनाशकारी महाभूकम्प गएको आज ठीक एक वर्ष भएको छ । यस सन्दर्भमा महाभूकम्पमा ज्यान गुमाउनेहरुप्रति हामी हार्दिक श्रद्धाञ्जली तथा सम्मान प्रकट गर्दछौं । यो अवधिमा भूकम्प पीडितले न उचित र अपेक्षित राहत पाए न भूकम्पवाट ध्वस्त संरचना पुन:निर्माण नै भए । पुन:निर्माणका निम्ति खडा गरिएको प्राधिकरण कुनै नियमित सरकारी अड्डा भन्दा फरक छैन । प्राधिकरण आफैंमा प्राधिकारयुक्त बनाइएन । जस्तो बनाइयो त्यसलाई पनि चलायमान हुन दिइएन । लामो समय प्रमुख कार्यकारीको नियुक्तिमा विवाद गरेरै समय खेर गयो । जव यो विवाद टुंगो लाग्यो प्राधिकरणमा कर्मचारी जान चाहेनन् । सोको मुख्य कारण जुनियर कार्यकारी प्रमुखको मातहत वस्न अप्ठेरो लागेको र पर्याप्त आफुखुशी वजेट परिचालन गर्न नपाउने भन्ने रह्यो । सरकारी निकायसँगको समन्वय छैन, दाताहरुसँगको सम्बन्ध कायम गर्न सकेको देखिँदैन । अनुमान गरिएको रकम खर्च गर्ने ल्याकत र औकात नै प्रदर्शन भएको छैन । प्राधिकरण कार्यविधि मात्र वनाएर वसेको छ । सरकारी निकाय कार्यान्वयन गर्ने मुडमा छैनन् ।

भूकम्प पीडितहरुले राज्यको तर्फबाट एक वर्षभित्रमा अस्थायी घर वनाउन १५ हजार रुपैयाँ र न्यानो कपडाको लागि १० हजार रुपैयाँ गरी जम्मा २५ हजार रुपैयाँ पाए । तर कतिपयले अझै पाउन नसकेको गुनासो छ । घर बनाउनका लागि दिने भनिएको २ लाख रुपैयाँ वर्षा वित्यो हिउँद वित्यो फेरि वर्षा मौसम शुरु हुन लाग्यो तर निर्णय कागज र घोषणमा नै सीमित रह्यो । सहयोग घोषणा गरेका दाताहरु रकम खर्च नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै खर्च नभएको रकम फिर्ता लैजाने भनिरहँदा आफूखुशी योजना राख्न नपाइएका कारण यो प्रतिक्रिया आएको भन्ने सरकारी भनाइ छ । जम्मा सवा अर्वको सम्झौता भएको छ तर चार खर्व दश अर्व रुपैयाँ भन्दा वढीको सहायता रकमको घोषणा भएको थियो भने ६५ अर्व रुपैयाँ दाताहरुले दिइ नै सकेका थिए । स्रोत भन्दा पनि नीतिगत समस्या रह्यो प्राधिकरणको र त्यसको स्वायत्तता, सक्षमता, तत्परता र विश्वसनियता देखिएन ।

एक वर्षसम्म लगाएर लगत संकलन गरियो भनियो । सो लगत संकलन समेत झूठ्ठो सावित भयो । राहतमा भ्रष्टाचार चरम देखियो । एक वर्ष वित्यो ४ लाख १३ हजार ३८३ घरको लगत संकलन भयो, १ लाख घरको लगत संकलन गर्न नै बाँकी छ । राहतको लागि आवेदन माग गरियो आवेदन दिनेमध्ये २८ प्रतिशतले मात्र प्राप्त गरे । या त ७२ प्रतिशत नक्कली थिए या त तिनलाई राहत पाउनबाट वञ्चित गर्ने गरी मापदण्ड बनाइयो । यो भन्दा बढी गैरजिम्मेवारपन र नालायकी के हुन सक्छ ?

उक्त विनाशकारी भूकम्पले ८६९३ जनाको ज्यान लिएको थियो भने २२४९१ जना घाईते भएका थिए । ५,०१,९०६ घरहरु पूर्ण रुपमा भत्किएका थिए भने २,७२,२३२ घरहरु आंशिक रुपमा क्षति भएका थिए । ८००० निजी तथा सामुदायिक विद्यालयका ३०००० जति कक्षा कोठाहरु तथा १०२३ स्वास्थ्य केन्द्रहरु भत्किएका थिए । लगत संकलन नगरिएका नागरिकका घरवासको कुनै आँकडा समेत छैन । लाखौंको संख्यामा मानिसहरु विस्थापित हुनु परेको र गाउँका गाउँ नै वसाई सर्नु पर्ने अवस्था रहेको तथ्य हाम्रा सामु छ । लाखौंको संख्यामा मानिसहरु विगत १ वर्षदेखि नै खुला आकाशमुनि, छाप्रो मुनि वा पाल वा जस्ता पाता मुनि जिन्दगी गुजार्न वाध्य छन् । भत्केका विद्यालय, स्वास्थ्य चौकी, कार्यालय, ऐतिहासिक सम्पदा आदिको स्थिति अहिलेसम्म जस्ताको तस्तै रहनु अत्यन्त विडम्वनापूर्ण र दु:खद् छ ।

भूकम्प आयो जनताको घरवास गयो । प्रियजनको क्षति भयो । तर सत्तावरपर रहेका भ्रष्टहरुलाई दशैं आयो । भूकम्पको राहत र उद्दारमा सबभन्दा वढी भ्रष्टाचार भयो । कति भ्रष्टाचार भयो भनेर अनुसन्धान समेत हुन सकेन । आज तिनै राहत र उद्दारमा मस्ति गर्नेहरु नै पुन:निर्माणमा तर मार्ने दाउमा छन् । यो भन्दा दु:खद् र निन्दनीय अवस्था अरु के हुनसक्छ ?

अकल्पनीय क्षति भएको एक वर्ष बितिसकेको छ । सरकारी वा निजी तवरमा पनि सहयोग राशी जुटेको, जुटाइएको र संसारभरी नै उठाईएको पनि छ । तर निजी क्षेत्रवाट वितरण भएको बाहेक सरकारी तवरको वितरणको नाममा सिन्को पनि भाँचिएको छैन । खरवौंको परिमाणमा सहयोगको वाचा पनि प्राप्त गरेको सरकारले आफैंभित्रको झगडा मिलाउन नसक्दा, भूकम्प पीडितहरुलाई वितरण गर्दा आफू र आफनो पार्टीलाई के फाइदा हुन्छ भनेर अत्यन्तै घृणित तवरले हिसाव गरेर भद्रो हेर्दा, प्राधिकरणमा आफ्नो मान्छे कसरी भर्न सकिन्छ र भूकम्प पीडितका नाममा आएको र आउने रकम कसरी आफ्नो निजी स्वार्थमा र आफ्नो पार्टीको र पार्टी कार्यकर्ताहरुको हितमा दुरुपयोग गर्न सकिन्छ भन्ने ध्यान बाहेक सरकार र सरकार सञ्चालन गरेका पार्टीहरुको अरु केही देखिएन । यस्तो मानवीय सम्वेदनशील विषयमा पनि सत्ताधारी दलहरुको रवैया विल्कुलै अमानवीय देखिएको कुरा जगजाहेर छ । यही तरिकाले दशकौंसम्म पुन:निर्माण र नवनिर्माणको काम सम्पन्न हुने देखिन्न । हिजो देश ‘हाइटीपथ’मा जान्छ कि भनेर गरिएको आशंका आज त्यो भन्दा पनि गएगुज्रेको देखिनु अत्यन्त खेदजनक छ ।

सरकारको यो निकम्मापन र भ्रष्टाचारजन्य कार्यको हामी घोर भत्र्सना गर्दछौं । राष्ट्रका नाममा दाताहरुको प्रतिवद्धतालाई सदुपयोग गर्दै भूकम्प पीडित जनताका पीडा कम गर्न, पुन:निर्माण र नवनिर्माणको कामलाई तीब्रता दिन हामी जोडदार माग गर्दछौं । हामी भन्छौं – आजै गरौं र हामीले नै गरौं, अरु कसैको बाटो नहेरौं ।

धन्यवाद ।


––––––––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति नेपाल

डाउनलोड