नयाँ शक्ति नेपालद्वारा सञ्चालित जनसम्वाद यात्रा समापनबारे प्रेस वक्तव्य

१५ फागुन २०७५

नयाँ शक्ति पार्टी, नेपालले ०७५ माघ १५ गते पाँचथरको चिवाभञ्ज्याङबाट मध्यपहाडी/पुष्पलाल लोकमार्गमा ‘असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद’ भन्ने नाराका साथ शुरु गरेको जनसम्वाद यात्रा–२०७५ आज २०७५ फागुन १५ गते बैतडीको झुलाघाट पुगी बैतडीकै गोठालापानीमा समापनसभा गरी अपरान्ह सम्पन्न भएको छ । 
 
जनसम्वाद यात्राका मिहिन, गम्भीर र दीर्घकालीन विषयहरुमा केही दिनमा प्रष्ट पार्नेगरी निम्न विषय यसै विज्ञप्तिमार्फत सबैको जानकारीका लागि सम्प्रेषित गरिन्छ । 
 
१. जनसम्वाद यात्रामा पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, गुल्मी, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी गरी २८ जिल्लामा कुल १४४ जनसम्वाद कार्यक्रम भए भने ५० हजारभन्दा बढीसँग प्रत्यक्ष र लाखौं जनसमुदायसँग अप्रत्यक्ष जनसम्वाद गरिएको छ । 
 
२. जनसम्वाद यात्रा पूर्वनिर्धारित समयमा प्रारम्भ भई पूर्वनिर्धारित समयमा नै सम्पन्न भएको छ । हिउँदको समय, ३० दिन लामो यात्रा, जटिल भूगोल, निर्माणाधीन सडक ट्र्याक, वर्षा र हिमपातका बावजुद जनसम्वाद यात्रा भव्य, ऐतिहासिक र सार्थक ढंगले सम्पन्न भएको छ । नेपाली जनताको अपार माया र सद्भाव, पार्टी पंक्तिको दृढ संकल्प र दुरुस्त व्यवस्थापन क्षमताबाट यो सम्भव हुन सकेको हो । यो जटिल र लामो यात्राको सफलताले पार्टी पंक्तिको दृढता र संकल्पलाई नयाँ उचाईमा विकसित गरेको महसुस भएको छ । 
 
३. जनसम्वाद यात्राका क्रममा वर्तमान सरकारको अकर्मण्यता, असक्षमता, नालायकिपनप्रति आम निराशा व्याप्त हुँदै गएको, मध्यपहाडी लोकमार्ग निर्माणमा पर्याप्त तदारुकता नदेखाइएको, मुआब्जाको समस्या सम्बोधन नगरिएको, सरकारी निकायहरुमा भ्रष्टाचार र बेथिति फैलिँदै गएको, अर्थतन्त्र शिथिल भएको, जनजीवन कष्टकर हुँदै गएको र राज्यको विश्वस्नियता ह्रास हुँदै गएको अनुभूति सर्वत्र पाइयो । 
 
४. जनसम्वाद यात्राका क्रममा जनमसुदायबाट हज्जारौं सुझाव, गुनासा र जानकारीहरु प्राप्त भएका छन् । मूलतः ती स्थानीय विकास, आर्थिक समृद्धि, समावेशिता र संघीयता कार्यान्वयनका समस्या र सुशासनको अपरिहार्यतामा केन्द्रित छन् । यी सबैको संश्लेषण गरी सम्वद्ध सरोकारवाला निकायमा पठाउने, कार्यान्वयनका लागि जनपैरवी गर्ने, चौतर्फी दबाव सृजना गर्ने प्रतिवद्धता व्यक्त गरिन्छ । 
 
५. यस यात्राका क्रममा आम जनसमुदायका अतिरिक्त स्थानीय तह र निर्वाचित जनप्रतिनिधि, विभिन्न दल तथा संघसंस्था, उद्योग वाणिज्य तथा निजी क्षेत्र, सञ्चार माध्यम, सुरक्षा निकाय लगायत सबै पक्षबाट हामीले महत्वपूर्ण साथ, सहयोग, सद्भाव र समर्थन प्राप्त गरेका छौं । उहाँहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।  
 
 
डम्बर खतिवडा                                                                 प्रशान्त सिंह 
   प्रवक्ता                                                                          प्रवक्ता     

डाउनलोड